कावासाकी बुल्स एफसी (A) बन्यो 1st Kawasaki Bulls Gold Cup 2026 को च्याम्पियन
जापानमा सम्पन्न 1st Kawasaki Bulls Gold Cup 2026 भव्य र प्रतिस्पर्धात्मक वातावरणका बीच सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा कुल ३२ टिमहरूको सहभागिता रहेको थियो। नकआउट चरणदेखि नै रोमाञ्चक बनेको प्रतियोगितामा विभिन्न बलिया टिमहरूलाई पछि पार्दै Kawasaki Bulls FC (A) ले उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो।
पहिलो सेमिफाइनलमा Kawasaki Bulls FC (A) र Rising Nepal FC बीच प्रतिस्पर्धा भएको थियो। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै Kawasaki Bulls FC (A) ले Rising Nepal FC लाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो। दोस्रो सेमिफाइनलमा Mercury FC ले Panauti 11 FC माथि ३–१ को प्रभावशाली जित निकाल्दै उपाधि भिडन्तमा प्रवेश गरेको थियो।
फाइनल खेलमा Kawasaki Bulls FC (A) र Mercury FC आमनेसामने भएका थिए। दुवै टिमबीच भएको रोमाञ्चक प्रतिस्पर्धामा Kawasaki Bulls FC (A) ले ३–२ को संघर्षपूर्ण जित हासिल गर्दै प्रतियोगिताको पहिलो संस्करणको उपाधि जित्न सफल भयो। फाइनल खेलभरि दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गरे पनि निर्णायक क्षणहरूमा Kawasaki Bulls FC (A) ले अवसरको सदुपयोग गर्दै च्याम्पियन बन्न सफल भएको थियो।
“Kawasaki Bulls Gold Cup 2026” को पहिलो संस्करणमा प्राप्त सफलतासँगै आयोजक Kawasaki Bulls Japan ले प्रतियोगितालाई आगामी वर्षहरूमा अझ भव्य र प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गर्ने जनाएको छ। प्रतियोगिताले जापानमा रहेका नेपाली खेलाडी तथा फुटसलप्रेमीहरूबीच खेलकुदको माध्यमबाट आपसी मित्रता, एकता र खेलभावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास रहेको छ।
